पाइलट विजय लामा भन्छन्, घर–गाडी जोड्ने सपनाले मान्छे दुःख र तनावमा छन

विजय लामा, वरिष्‍ठ विमानचालक

नेपालीहरु धेरैको चाहाना हुन्छ– शहरमा आफ्नै सुन्दर घर होस् । र, एउटा गाडी पनि । तर, सबैको चाहाना कहाँ पुरा हुन सक्छ र ! जग्गाको भाउ उछालिएर चुलीमा पुगेको शहरमा आफ्नै सुन्दर घर बनाउने सपना धेरै कमले मात्र पुरा गर्न सक्छन । तैपनि मान्छे घरगाडी जोड्ने सपना बोकेर दौडधुप गरिरहेको हुन्छ, जसले मान्छेलाई दुःखी र स्ट्रेसमा राखेको हुन्छ ।

नेपालमा घर हुनेलाई मात्र समाजले इज्जत दिन्छ । कसैले कति कमाइ गरेको छ भनेर तौलिने मापदण्ड भनेकै उसले जोडेको घरगाडी हुने गर्छ । हाम्रो समाजको स्ट्रक्चर नै यस्तो बनेको छ कि जसले घरगाडी हुनेलाई मात्र प्रतिष्‍ठा दिन्छ । त्यसैले पनि मान्छेले सामाजिक प्रतिष्‍ठा बढाउनका लागि पनि सकिनसकी आफ्नो घर बनाउने दौडमा हुन्छन् । हाम्रो समाजमा घरजग्गा जोड्नेमा बढी देखासिकी गरेको पाइन्छ । आफ्नै हैसियतले नभ्याए पनि सकिनसकी भव्य महल ठड्याउन खोजिन्छ जुन सरासर गलत छ ।

अरुको देखासिकी गर्न खोज्‍ने मान्छे जहिले पनि दुःखी हुन्छ । उसको जीवन पनि सार्थक बन्दैन । अर्थात् जीवन जिउनै जान्दैन । हामीले आफूसँग जे छ, जति सामर्थ्य छ त्यसै अनुसार चल्नुपर्छ । त्यसमै चित्त बुझाउनुपर्ने हुन्छ ।

घर भनेको सबैले गच्छे अनुसारको बनाउने हो । घर त्यो हो, जहाँ मन बस्छ । भव्य संरचना ठड्याउँदैमा त्यो घर बन्दैन, जबसम्म त्यहाँ माहौल सिर्जना हुँदैन । घरमा न्यानोपन हुनुपर्छ, सोँच हुनुपर्छ, आत्मियता हुनुपर्छ । घरभित्र छिर्दा मन शान्त हुनुपर्छ । आत्मियता झुपडीमा पनि पाउन सकिन्छ, भव्य महलमा नपाउन पनि सक्छ ।

मलाई लाग्छ, आफु जहाँ बसिन्छ त्यही घर हो । गाउँमा भव्य घर छ तर शहरमा भाडामा बसिएको छ भने भाडाकै फ्ल्याट वा कोठा घर हो । गाउँको भव्य घरमा बस्‍न नपाएपछि त्यो कसरी घर हुन सक्छ !

धेरैको धारणा भाडाको घरलाई घर नै नठान्‍ने हुन्छ । यदि तपाइँ यस्तो सोँच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । जबसम्म तपाइँ भाडा तिरेर बस्‍नुहुन्छ तबसम्म तपाइँका लागि त्यो घर हो, जसले तपाइँलाई आश्रय दिइरहेको हुन्छ ।

भाडाको घरमा पनि रेन्ट तिरेकै हुन्छ । यदि तपाइँले बैंकबाट ऋण लिएर घर बनाउनु भएको छ भने पनि त्यो पनि एक किसिमले मासिक रुपमा तिर्ने रेन्टजस्तै हो । महिना मर्ने वित्तिकै बैंकको किस्ता तिर्नुपर्ने बाध्यता । यदि हामीले रेन्टको घरलाई आफ्नै घरजस्तो ठान्दैनौं भने जंगल वा सडकमा बसे भइहाल्यो नी । आफ्नो स्वामित्वको घर बनाएपछि मात्र घर ठान्‍ने मान्यता म मान्दै मान्दिन ।

जहाँ बसिन्छ त्यो घर हो । जहाँ बसिन्छ, त्यहाँ आरामले बस्‍नुपर्छ । कतिपय अवस्थामा रेन्टको घरमा बस्‍नुको आनन्द आफ्नै घरले नदिन पनि सक्छ । म भन्छु, रेन्टको घरमा बस्दा पनि आफ्नै घर सम्झिएर बसौं, सफा सुग्घर गरौं । घर सफासुग्घर भएपछि शान्ती पनि हुन्छ । तपाइँ रेन्टमा बसेको घर कसैले रगत पसिना बगाएर जीवनभर कमाएको पैसाबाट बनाएको हुन सक्छ । रेन्टमा बस्या त हो नि भनेर घर भत्काइदिने, फोहोर गरिदिने गर्नु हुँदैन । आफै घरमालिक सम्झेर बस्‍नुपर्छ ।

जिन्दगीमा मरि लानु के छ र ? हिजो अफगानिस्तानमा मेरो प्रोपर्टी भनेर बसेका मान्छेहरु आज किन देश छाड्नका लागि मरिहत्ते गरिरहेका छन् ? उनीहरुलाई त्यो सम्पत्तिले शान्ति र अमनचयन दियो त ?

नेपालमा पनि एक समय माओवादी सशस्त्र द्बन्दका कारण धेरै मान्छेले गाउँमा बस्‍न नसकेर घर छाड्नुपर्यो, सम्पत्तिको माया मारेर निस्कनुपर्यो । आखिरी गाउँमा शान्तिसँग बस्‍न नसकेर छाड्नुपरेपछि त्यो कसरी घर भयो त ? घरमा त शान्तिसँग बस्‍न सक्नुपर्यो । समाज पनि त्यस्तै सहिष्णु हुनुपर्यो । जतिसुकै ठूलो घर र धेरै सम्पत्ति भएपनि आखिरी मरिलानु के नै छ र !

हामी यथार्थमा जिउन सिक्नुपर्छ, देखावटी जीवन पच्छाउनु हुन्‍न । यदि म होटलमा बस्छु भने पनि त्यो मेरो लागि घर हो । कहिलेकाहीँ आफ्नै घरले पनि ओत दिँदैन, भाडाको घरमा ओत लाग्‍नुपर्छ । जसले ओत दिन्छ, त्यही घर हो । घर भव्य होइन, कम्फर्ट हुनुपर्छ, न्यानोपन दिने हुनुपर्छ भन्‍ने मेरो धारणा छ । घरको बिषयमा मेरो धारणा बिल्कुल फरक छ । मेरो धारणा धेरैसँग नमिल्न पनि सक्छ । म आफै पनि भाडाको घरमा बसेको छु । त्यो अनुभव पनि छ । आफ्नै घर पनि बनाएको छु, त्यो घर बिक्री पनि गरेँ ।

म रेन्टमा बस्दा आफ्नै घर सम्झिएर बसेको थिएँ । त्यसैले त घर छाड्ने बेलामा घरधनीले तपाइँ छाडेर नजानुस भनेका थिए । मैले जिस्किएर घर मेरो नाममा नामसारी गरिनिुस न त भनेको थिएँ । घरधनी हाहाहा... गर्दै हाँसेका थिए ।

विदेशतिर नेपालमा जस्तै घर/सम्पत्तिको पछाडि दौडिने भन्‍ने हुँदैन । नेपालमा २ आनामै भएपनि आफ्नै घर चाहिन्छ । अनि, मेरो २ आनामा घर छ, ४ आनामा घर छ, ४ रोपनीमा घर छ भन्दै छाति फुलाउँदै हिँड्नु पर्या छ । सम्पत्तिको धाक लगाउनु पर्या छ । आफ्नो सफलतालाई सम्पत्तिसँग दाँज्या छ ।

घर नहुँदैमा हिनताबोध गर्ने मान्छे कहिल्यै सुखी हुँदैन । एकबारको जुनीमा किन दुःखी भएर बाँच्‍नुपर्या छ र ? हामीले यथार्थमा जीउन सिक्यौं भने कहिल्यै दुःखी हुनु पर्दैन ।

शहरमा अलि ज्यादा देखासिकी छ । उसको घर छ, मेरो छैन । त्यसको गाडी छ, मेरो छैन ।

सिम्पल लिभिङ हाइ थिंकिङ हुनुपर्छ । घर खुशी हो, रेन्टमा बसे पनि आफ्नैमा बसे पनि । एउटै कोठा भएपनि चिटिक्क पार्नुस् त्यहाँ खुशी मिल्छ । भव्य घर छ तर जताततै फोहोर अस्तव्यस्त छ भने त्यहाँ खुशी मिल्दैन । असन्तुष्‍टि पैदा हुन्छ ।

हामी खुशी हुन जान्‍नुपर्छ । तपाईं खुशी आत्मा लिएर मर्नुहुन्छ कि दुःखी आत्मा लिएर ? त्यो तपाइँको च्वाइस हो । म चाहीँ दुई दिनको जिन्दगी खुशीसाथ जिउनुपर्छ भन्‍ने मान्यता राख्छु ।

म ललितपुरको लेलेमा मौलिक पाराको घर बनाउँदै छु । त्यहाँ ग्रिनरी हुन्छ । धेरै सामान राखेर भद्दा बनाउँदिन । त्यहाँ ब्यायामशाला हुन्छ । एउटा पुजाकोठा हुन्छ । सिम्पल कलर लगाउँछु । फर्निचर पनि सिम्पल हुनेछन् । उचाल्न नसक्ने ठूला फर्निचर किन राख्‍ने ?

म आफ्नै लागि घर बनाउँछु ताकी मेरो भावी पुस्तालाई सोँचेर होइन । हाम्रोमा घर/सम्पत्ति जोड्दा ७ पुस्तालाई सोच्‍ने चलन छ । हामीले किन छोरा-नातीका लागि सम्पत्ति जोडिदिने ? छोरा-नातीसम्मलाई सम्पत्ति जोड्ने ध्यानमा किन आफ्ने जीवन धेरै व्यस्त बनाउने ? हामीले बनाएको घरमा नाती/नातिना बस्छन भन्‍ने छ र ? उनीहरुको फरक सोच हुन्छ । हामीले बनाएको घर नरुचाउन सक्छन् । त्यो बेलासम्म उनीहरुको सोच पनि फरक भइसकेको हुन्छ ।हामीले पढाइदिने हो । शिक्षा दिने हो । हामीले ७ पुस्तालाई पुग्‍ने कमाइदिने होइन । त्यसले प्रेसर मात्र हुन्छ । घर आफ्ना लागि बनाउने हो । आफ्नो आवश्यकता अनुसारको बनाउने हो । छोरा-नातीले आफुलाई जस्तो चाहिन्छ, पछि आफै कमाएर बनाउँछन् । हामीले राम्रो शिक्षादिक्षा दिएपछि उनीहरु आफै सक्षम हुन्छन् त्यस्तो सम्पत्ति आफै जोड्न सक्छन् ।

घर भनेको पनि शिक्षा हो, सिक्ने ठाउँ हो । घर भनेको सोफा, बेडमात्र होइन, खाली सम्पत्ति मात्र पनि होइन । घर भनेको शिक्षालय हो । घर भनेको सोँच हो । घर भनेको आत्मियता हो । त्यो जहाँ मिल्छ, त्यहीँ आफ्नो घर हो, मेरो घर छैन भनेर हीनताबोध गरेर जीवन बर्बाद गर्नुहुन्न ।

Post a Comment

Previous Post Next Post